पोखरा । विभागीय टिम नेपाल पुलिस क्लबले पोखरामा जारी तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आइतबार बिहान भएको खेलमा चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीलाई ३-२ को सेटमा पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।
पोखराको लामाचौरमा भएको खेलमा पुलिसले न्यू डायमण्डलाई ३२-३०, २५-२२, १४-२५ ,२४-२६ र १५-५ को सेटमा पराजित गर्यो ।
जितसँगै समूह 'बी' को पुलिसले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
न्यू डायमण्डको यो पहिलो हार हो । यसअघि शनिबार भएको खेलमा न्यू डायमण्डले चितवन टाईगर्सलाई ३-० को सोझो सेटमा हराएको थियो ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १ लाख पाउने छन् । यस्तै उपविजेताले ६५ हजार र तेस्रो २५ हजार पाउने आयोजकले जनाएको छ ।