पोखरा । तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत शनिबार तय भएको दुई खेल स्थगित भएको छ ।
पोखराको लामाचौरमा जारी प्रतियोगिता अन्तर्गत शनिबार वर्षाको कारण दुई खेल स्थगित भएको हो ।
वर्षाको कारण होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लब तथा गण्डकी प्रदेश र श्रीराम खेलकुद विकास समिति दाङबीचको खेल स्थगित भएको हो । स्थगित भएको दुवै खेल आइतबार बिहान हुने आयोजकले जनाएको छ ।
यसअघि शनिबार नै भएको खेलमा चार पटकको च्याम्पियन न्यू डायमण्ड र गण्डकीले जित निकालेको थियो ।
पहिलो खेलमा न्यू डायमण्डले चितवन टाईगर्सलाई २५-१४,२५-२० र २५-१४ को सेटमा पराजित गरेको थियो ।
यस्तै गण्डकीले पारामाउण्ट इन्ग्लिश स्कुल काठमाण्डौंलाई २५-१४, २५-११ र २५-१५ को सेटमा पाखा लगाएको थियो ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १ लाख पाउने छन् । यस्तै उपविजेताले ६५ हजार र तेस्रो २५ हजार पाउने आयोजकले जनाएको छ ।