पोखरा । चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यू डायमण्ड एकेडेमीले तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पोखराको लामाचौरमा शनिबार भएको खेलमा चितवन टाईगर्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले सुखद सुरुवात गरेको हो ।
न्यू डायमण्डले चितवनमाथि २५-१४,२५-२० र २५-१४ को सेटमा जित निकाल्यो । जितसँगै समूह 'बी' को न्यू डायमण्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब न्यू डायमण्डले दोस्रो खेलमा शनिबार नै नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
चितवनविरुद्धको खेलमा न्यू डायमण्डबाट कोर्ट उत्रदै सिपोरा गुरुङले लामो समयपछि भलिबलमा पुनरागमन गरेकी छिन् । चोटका कारण लामो समय कोर्ट बाहिर रहेकी सिपोराले न्यू डायमण्डबाट खेल्दै घरेलु भलिबलमा पुनरागमन गरेकी हुन्
श्रीलंकाको कोलम्बोमा सम्पन्न १० औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टिममा डेब्यु गरेकी सिपोराले २०६८ सालमा घुँडाको चोट बोकेकी थिईन् ।
१२ वर्षकै उमेरमा नेपाली टोलीमा डेब्यु गरेकी सिपोरा पछिल्लो समय भने सिपोरा पढाईका लागि अमेरिकामा रहदै आएकी थिइन् । तर, यसै प्रतियोगिता खेल्न सिपोरा नेपाल आएकी हुन् ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । यस पटक साविकको विजेता एपीएफले सहभागिता जनाएको छैन ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १ लाख पाउने छन् । यस्तै उपविजेताले ६५ हजार र तेस्रो २५ हजार पाउने आयोजकले जनाएको छ ।