पोखरा । गण्डकी प्रदेशले तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
पोखराको लामाचौरमा भएको पहिलो खेलमा पारामाउण्ट इन्ग्लिश स्कुल काठमाण्डौंलाई ३-० को सोझो सेटमा पराजित गर्दै गण्डकीले विजयी सुरुवात गरेको हो ।
उत्कृष्ट सुरुवात गर्ने क्रममा गण्डकीले पारामाउण्टलाई २५-१४, २५-११ र २५-१५ को सेटमा पाखा लगायो । जितसँगै समूह 'ए' को गण्डकीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
अब गण्डकीले दोस्रो खेलमा शनिबार नै श्रीराम खेलकुद विकास समिति दाङसँग खेल्नेछ ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा जारी प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । यस पटक साविकको विजेता एपीएफले सहभागिता जनाएको छैन ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १ लाख पाउने छन् । यस्तै उपविजेताले ६५ हजार र तेस्रो २५ हजार पाउने आयोजकले जनाएको छ ।