पोखरा । तीज अवसरमा पोखराको लामाचौरमा आज (शनिबार) बाट राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सुरु हुदैछ ।
२३ औं लामाचौर तीज महोत्सवको अवसरमा आयोजना हुने प्रतियोगिताको पहिलो दिन विभिन्न चार खेल हुँदैछ ।
प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र पारामाउण्ट इन्ग्लिश स्कुल काठमाण्डौंबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा चार पटकको च्याम्पियन होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी र चितवन टाईगर्स प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत शनिबार हुने तेस्रो खेलमा गण्डकी प्रदेशले श्रीराम खेलकुद विकास समिति दाङ र अन्तिम खेलमा होङ्ग्वान्जी न्यु डायमन्डले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । यस पटक साविकको विजेता एपीएफले सहभागिता जनाएको छैन ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १ लाख पाउने छन्। यस्तै उपविजेताले ६५ हजार र तेस्रो २५ हजार पाउने आयोजकले जनाएको छ ।