काठमाडौं । पहिलो संस्करणको 'प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप' राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता भदौ अन्तिम साता आयोजना हुने भएको छ ।
आयोजक प्रगतिशील यूवा नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २४ गतेबाट २८ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगितामा १० भन्दा बढी टिमको सहभागिता रहने आयोजक प्रगतिशील यूवा नेपालका अध्यक्ष दिपक थापाले जानकारी गराए ।
प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्ने आयोजकले जनाएको छ । यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पाउने आयोजकले जनाएको छ । त्यसबाहेक स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी गराए ।
प्रतियोगितामा दर्शकका लागि टिकट मूल्य राखिने समेत आयोजकले जनाएको छ ।
प्रतियोगिता हरेक वर्ष गरिने प्रगतिशील यूवा नेपालले जनाएको छ । प्रतियोगिता आयोजना गर्न नेपाल भलिबल संघले स्वीकृति दिईसकेको आयोजकले जनाएको छ ।