पोखरा । भिम पराजुलीको अध्यक्षमा कास्की जिल्ला भलिबल संघको पुर्नगठन भएको छ । शनिबार पोखरामा सम्पन्न सातौं साधारणसभाले संघलाई दुई बर्षका लागि पुर्नगठन गरेको हो ।
नेपाल भलिबल संघको निर्देशन अनुसार गरिएको पुर्नगठनमा पराजुलीलाई अध्यक्षमा चयन गरेको हो । यस्तै साधारणसभाले सदस्यमा एक पद रिक्त राख्दै १४ सदस्यिय कार्यसमिती पुर्नगठन समेत गरेको छ । पुर्नगठित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र गौचन, उपाध्यक्षमा बाबुराम कोसी, सचिबमा कुमार गुरुङ, कोषाध्यक्षमा टंकराज पौडेल र सहसचिबमा शेषकान्त शर्मा रहेका छन ।
त्यसैगरि कार्यसमितीको सदस्यमा मनशान्त घिमिरे, तारानाथ पहारी, बुद्ध सिंह, राजेन्द्र जिशी, कृष्ण जोशी, योगेन्द्र बस्नेत, बलराम तिमिल्सीना र गोपाल थापा रहेका छन । महिलाका लागि एक पद रिक्त राखिएको र यसलाई चांडै परिपुर्ती गरिने अध्यक्ष पराजुलीले बताए ।
संघको शनिबार नै बसेको पहिलो बैठकले तीनजनालाई सल्लाहकारमा चयन गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ कानुनी अधिकृत तथा भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण प्रसाद शर्मा, महिला पर्यटन उद्यमी लक्की कार्की र नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशब पाठकलाई संघको सल्लाहकारमा चयन गरेको हो ।
बैठकले आगामी भदौ १ गते देखि ३ गते सम्म पोखरामा खुल्ला पुरुष बिच भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको अध्यक्ष पराजुलीले बताए । उक्त बिच भलिबलमा प्रथम र दोश्रोले क्रमश नगद ३० र २० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । अध्यक्ष पराजुलीका अनुसार खेलाडीलाई प्रोत्साहन दिन वािर्षक रुपमा एक–एक जना महिला तथा पुरुष खेलाडीलाई सम्मान गर्ने निर्णय समेत गरिएको छ ।