काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ।
मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो ।
मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको २९१ रनको फराकिलो लक्ष्य पछ्याएको कर्णाली ३५ ओभर १ बलमा अलआउट हुँदै १७३ रनमा समेटियो ।
कर्णालीका लागि सुशान्त थापाले सर्वाधिक ३१ तथा ललित प्याकुरेलले अविजित २८ रन जोडे । यस्तै दिवान पुनले २६ रन जोड्दा युनिश सिंहले २० रन बनाए ।
कर्णालीलाई सस्तैमा समेट्न आर्मीका लागि सुशन भारीले ९ ओभर बलिङ गर्दै ३६ रन खर्चेर ४ विकेट लिए । यस्तै साहब आलम र करण केसीले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २९० रन बनाएको थियो ।
आर्मीको फराकिलो स्कोरमा राजु रिजाल, हरिकृष्ण झा र रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । ओपनर राजुले ६६ रनको योगदान दिदा रोहितले ५६ रन बनाए । यस्तै हरिकृष्णले ५२ रन जोडे ।
त्यस्तै आर्मीका लागि करण केसीले २८ तथा साहब आलम र लोकेन्द्र चन्दले १६/१६ रन जोडे ।
कर्णाली प्रदेशका ललित प्याकुरेलले ५ विकेट लिए । यस्तै रबिन्द्र शाहीले २ विकेट लिए ।
यो जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह 'बी' को शीर्ष स्थानमा रहेको आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ ।
२ खेलबाट अंकविहीन कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ ।
यसअघि आर्मीले पहिलो खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा प्रदेश नम्बर १ लाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।