काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज (मंगलबार) दुई खेल हुदैछ । समुह ए अन्तर्गत प्रदेश ३ र गण्डकी प्रदेश तथा समुह बी अन्तर्गत त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुन लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा गण्डकी प्रदेश प्रतियोगिताको आफ्नो पहिलो खेल खेल्दैछ । प्रदेश ३ भने लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउने दाउमा हुनेछ ।
पहिलो खेल एपीएफसंग गुमाएको प्रदेश ३ ले दोस्रो खेलमा तुलनात्मक रुपमा बलियो मानिएको प्रदेश ५ लाई हराएको थियो ।
प्रदेश ३ भने दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । गण्डकीको यो पहिलो खेल हो ।
मुलपानी तल्लो क्रिकेट मैदानमा आजै हुने दोस्रो खेलमा आर्मी र कर्णाली प्रदेश भिड्दै छन् । लगातार तीन जित निकाल्दै अघिल्लो चरण पुग्ने योजना बनाएको आर्मीका सहज जितको अपेक्षा सहित मैदान उत्रने तयारी गरेको छ ।
राष्ट्रिय टिमका अनुभवी ब्याट्सम्यानबाट भरिएको आर्मीले पहिलो खेलमा प्रदेश २ र दोस्रो खेलमा प्रदेश १ लाई पराजित गरेको थियो ।
आर्मी दुई खेलबाट ४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । मात्र एक खेल खेलेको कर्णाली अंक विहिन हुदै तालिकाको पुछारदेखि दोस्रोमा छ ।