काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै एपीएफले दोस्रो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा सुदुरपश्चिमले दिएको १२६ रनको सामान्य लक्ष्य एपीएफले ३४ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।
एपीएफको जितमा कप्तान पृथु बास्कोटाले अविजित ३२ रन जोडे । यस्तै शरद भेषवाकरले २६, सन्दीप जोराले २२ रन जोड्दा सुमित महर्जनले १५ रन बनाए ।
सुदुरपश्चिमका बिनोद लामाले ३ तथा शेर मल्लले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ३७ ओभर १ बलमा अलआउट हुँदै १२५ रन बनाएको थियो । सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रन बनाए ।
यस्तै विपिन रावलले २१, खडक बोहोराले १९ र रोशन अधिकारीले १६ रन बनाए । सुदुरपश्चिमका पाँच खेलाडी रन आउट भएका थिए ।
एपीएफका अविनाश बोहोराले २ विकेट लिए ।
जितसंगै समूह 'ए' को एपीएफले २ खेलबाट ४ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा एपीएफले प्रदेश नम्बर ३ लाई ४१ रनले पराजित गरेको थियो ।
सुदुरपश्चिम अंकविहीन रहदै पुछारमा रहेको छ ।