काठमाडौं। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक मनोज कटवालले एसिसी महिला एसिया कपमा नेपालले भारत र पाकिस्तानविरुद्ध दमदार प्रदर्शन गर्न तयार रहेको बताएका छन्।
आगामी महिना श्रीलंकामा हुने एसिसी महिला एसिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा नेपालसँगै पाकिस्तान, भारत र युएई रहेका छन्।
नेपालले उद्घाटन खेलमा युएईको सामन गर्ने छ। यी दुईबीचको खेल जुलाई १९ मा हुने एसिसीले जनाएको छ।
‘ब्याटिङ र फिल्डिङमा राम्रो सुधार भएको छ। त्यसैले यसपटक एसिया कपमा दमदार प्रदर्शन हुन्छजस्तो लागेको छ,’ उनले भने,‘यो फर्म्याटमा कोही ठूलो सानो भन्ने हुँदैन। स्ट्रोङ टिम भनेको कागजमा मात्रै हुन्छ।’
नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध खेल्ने छ। समूहचरणको अन्तिम खेलमा नेपालले जुलाई २३ मा भारतको समाना गर्नेछ।
ट्वान्टी २० क्रिकेट भएको कारण भारत र पाकिस्तानलाई चुनौती दिन सकिने उनले बताए। ‘हामीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा सुधार गरेका छौं। त्यसले बलिङमा १२० या १०० भित्र प्याक गर्न सक्यौं भने राम्रो चुनौती दिन्छौं,’ उनले भने।