काठमाडौँ। लगातार तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)मा एक हजारभन्दा बढी छक्का प्रहार भएका छन्। सन् २०२२ मा दुई नयाँ टोलीको आगमनसँगै खेलको संख्यामा वृद्धि भएको छ।
यसको प्रत्यक्ष असर छक्काको संख्यामा पनि परिरहेको छ। उक्त सिजनका ७४ खेलमा १ हजार ६२ छक्का प्रहार भएका थिए। यसअघि आईपीएल २०१८ मा सबैभन्दा धेरै ८७२ छक्का प्रहार भएको थियो।
आईपीएल २०२३ मा १ हजार १२४ छक्का प्रहार भएका थिए। र, यो रेकर्ड यही सिजन तोडिने देखिन्छ। यो सिजनमा अझै १७ खेल बाँकी छन् र यो आँकडा पार गर्न थप ११० छक्का मात्र आवश्यक छ।
आईपीएल २०२३ मा ६७औँ खेलमा एक हजार छक्काको संख्या पूरा भएको थियो। यसपटक भने ५७ खेल र २ हजार ३१२ बल पहिले नै उक्त आँकडा पूरा भएको थियो।
आईपीएलको जारी सिजनअघि अफगानिस्तान प्रिमियर लिग (२०१८) र क्यारेबियन प्रिमियर लिग (२०१९) का एकै खेलमा सर्वाधिक छक्का (३७) बनाउने कीर्तिमान थियो।
सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सविरुद्ध मार्च २७ मा भएको खेलमा ३८ छक्का प्रहार भएका थिए। त्यसपछि हैदराबाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच भएको खेलमा पनि ३८ छक्का प्रहार भएका थिए।
यद्यपि, यो रेकर्ड चाँडै कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्स विरुद्धको खेलमा तोडिएको थियो। उक्त खेलमा ४२ छक्का प्रहार भएका थिए।
हैदराबादको नाममा सबैभन्दा बढी छक्का
यसअघि हैदराबाद र दिल्ली क्यापिटल्सलाई कहिल्यै पनि बढी छक्का प्रहार गर्ने टोलीमा गणना गरिएको थिएन। हैदराबादले यस सिजनभन्दा अघि एक सिजनमा १०० छक्कासमेत प्रहार गरेको थिएन। यसपटक भने हैदराबादले एक सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने रेकर्ड बनाएको छ।
हैदराबादले यस सिजनमा चेन्नई सुपर किंग्सको रेकर्ड तोड्दै १४६ छक्का प्रहार गरिसकेको छ। यसअघि चेन्नईले सन् २०१८ मा १४५ छक्का प्रहार गरेको थियो।
त्यसअघि हैदराबादले सन् २०२२ मा ९७ छक्का प्रहार गरेको थियो। त्यस्तै, दिल्लीले पनि सन् २०१८ मा १४ खेलमा कुल ११५ छक्का प्रहार गरेको थियो। यो सिजनमा भने दिल्लीले १२ खेलमा १२० छक्का प्रहार गरेको छ।
एक वर्षअघि डेभिड वार्नरले दिल्लीको अरुण जेट्ली स्टेडियमको पिच ब्याटिङका लागि उपयुक्त नभएको गुनासो गरेका थिए। यो सिजन अरुण जेट्ली स्टेडियममा अहिलेसम्म ४ खेल मात्र भएको छ।
यो पिचमा ११४ छक्का प्रहार भएका छन्। यो मैदानमा एक खेलमा कम्तीमा २५ छक्का प्रहार भएका छन्। औसतमा हरेक ८.४१ बल बाउन्ड्री बाहिर झरेको रेकर्ड छ।
यस कुरामा कोलकाता पनि पछि छैन। अहिलेसम्म खेलेका कुल ६ खेलमा १३९ छक्का प्रहार भएको छ। आईपीएलको यो सिजनमा सबैभन्दा धेरै छक्का पनि कोलकातामै प्रहार भएका छन्।
दिल्ली, कोलकाता, बेंग्लोर र हैदराबाद प्रतिखेल छक्काको दरका आधारमा शीर्ष चार स्थानमा छन्। आईपीएलको एक सिजनमा अहिलेसम्म दुई पटक मात्र एक स्थानमा १५० भन्दा बढी छक्का प्रहार भएका छन्।
सन् २०१६ मा बेंग्लरको एम चिन्नास्वामी स्टेडियममा १६५ छक्का प्रहार भएका थिए। गत वर्ष अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १६२ छक्का प्रहार भएको थियो।
इडेन गार्डेन्सको यो रेकर्ड तोड्न अन्तिम खेलमा २७ छक्का आवश्यक पर्छ। बेंग्लोर र हैदराबाद पनि यस कुरामा धेरै पछाडि छैनन्। यी दुई स्थानमा अझै दुई खेल बाँकी छन्। यो सिजन क्रमशः १११ र ११० छक्का प्रहार भएको छ।