काठमाडौँ। एलआरआई स्कुलले जयकुमार नाथ शाह स्मृति यू-१६ टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा रत्नराज्य स्कुललाई पराजित गरेको छ।
बुधबार सम्पन्न खेलमा एलआरआई ३ विकेटले विजयी भएको हो। रत्नराज्यले दिएको ७९ रनको लक्ष्य एलआरआईले १४.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। एलआरआईका अनुप सिंहले सर्वाधिक २५ रन बनाए। शुभ रेग्मीले १३ रन बनाए।
रत्नराज्यका आयुशकुमार महतोले सर्वाधिक ४ विकेट लिए। दीपेश थापा र भुवन खातीले १/१ विकेट लिए।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको रत्नराज्यले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन बनायो। रत्नराज्यका ध्रुवकुमार खाङ्ग र आयुशकुमार महताले १६/१६ रन बनाए।
यस्तै, भुवन खातीले १२ रन बनाए। एलआरआईका श्रीयन्श अवस्थीले सर्वाधिक ४ विकेट लिए। ऋषभ रोकाले ३ र समृद्ध केसीले १ विकेट लिए।
जितसँगै एलआरआईले ३ खेलमा ४ अंक जोडेको छ। पराजित रत्नराज्यको समान खेलबाट २ अंक छ।