काठमाडौँ। बायाँ हाते अर्थडक्स बलर सागर ढकाल र तीव्रगतिका बलर सोमपाल कामीको कसिलो बलिङ गरेसँगै वेस्ट इन्डिज ‘ए’ ले पाँचौँ तथा अन्तिम खेलमा नेपाललाई १७३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको हो।
सोमपालले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए। २ ओभर बलिङ गरेका सागरले भने ३ विकेट लिन १७ रन खर्चिए।
यस्तै, अविनाश बोहराले १ विकेट लिए।
वेस्ट इन्डिजका एलिक एथानजेले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। २९ बल खेलेका उनले १ चौका ३ छक्का प्रहार गरे।
२३ बल खेलेका कप्तान रोस्टन चेल्सले ५ चौकासहित ३३ रन बनाए। यस्तै, जोनसन चार्ल्स २४, म्याथ्यू फोर्डे २३ रनमा आउट हुँदा अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।