काठमाडौँ। अफगानिस्तानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
अफगानिस्तानले १९ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोहम्मद इशाकलाई टोलीमा समावेश गरेको छ। इशाकले यसै वर्ष टी–२० मा डेब्यू गरेका थिए। इशाकका अलावा करिम जनत र नूर अहमदले पनि टोलीमा स्थान बनाएका छन्।
अफगानिस्तानले २० वर्षीय बायाँ हाते स्पिन अलराउन्डर नांग्याल खरोतीलाई पनि विश्वकप टोलीमा समावेश गरेको छ। खरोतीले कप्तान राशिद, मोहम्मद नबी, मुजिब योर रहमान र नूर अहमदसँगै टोलीको स्पिन विभागलाई बलियो बनाउनेछन्।
तीव्रगतिको आक्रमणलाई नवीन-उल-हक, फरिद अहमद र फजलहक फारुकीले सम्हाल्नेछन्। टोलीमा सादिक अटल, हजरतुल्लाह जजई र सलिम सैफी रिजर्व खेलाडीको रूपमा रहेका छन्। जुन ३ मा युगान्डाविरुद्ध खेल्दै अफगानिस्तानले विश्वकप शुरू गर्ने छ।
यी दुई टोलीबीचको खेल गुयानामा हुनेछ। त्यसपछि टोलीले न्यूजिल्यान्डसँग जुन ७ मा सोही मैदानमा खेल खेल्नेछ। अफगानिस्तानले जुन १३ मा पपुवा न्यूगिनी र जुन १७ मा आयोजक वेस्ट इन्डिजसँग खेल्नेछ। अफगानिस्तानले गत वर्ष भारतमा भएको एक दिवसीय विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो।
अफगानिस्तानको टोली :
राशिद खान (कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमतुल्लाह उमरजई, नजीबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नबी, गुलबदीन नायब, करिम जनत, नांगयाल खरोती, मुजीब योर रहमान, नूर अहमद, नवीन-उल-हक, फजलहक फारूकी, फरीद अहमद मलिक
रिजर्व : सादिक अटल, हजरतुल्लाह जजई, सलिम सैफी