काठमाडौँ। कोलकाता नाइट राइडर्सका तीव्रगतिका बलर हर्षित राणालाई इन्डियन प्रिमियर लिग (आईपीएल) आचारसंहिता उल्लंघन गरेको आरोपमा म्याच फीको शतप्रतिशत जरिवाना गरिएको छ।
दिल्ली क्यापिटल्स ब्याट्सम्यान अभिषेक पोरेलको विकेट लिएपछि मानएको उत्सव कारण उनी कारबाहीमा परेका हुन्। यस खेलमा कोलकाताले उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीलाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा हर्षितले २८ रन खर्चेर २ विकेट लिएका थिए।
योसँगै हर्षित मे ३ मा वानखेडे स्टेडियममा मुम्बई इन्डियन्सविरुद्ध हुने खेल गुमाउने भएका छन्। हर्षितलाई प्रतियोगिताको नियमको धारा २.५ अन्तर्गत लेभल १ अपराध गरेको बताइएको छ। आचारसंहिताको लेभल १ उल्लंघन गरे म्याच रेफ्रीको निर्णय अन्तिम र बाध्यकारी हुन्छ।
हर्षितको यो सिजनको यो दोस्रो अपराध हो। गत महिना सनराइजर्स हैदरावादविरुद्धको खेलमा पनि उनलाई कारबाही गरिएको थियो। त्यस खेलमा हर्षितले हैदरावादका ब्याट्सम्यान मयंक अग्रवाललाई आउट गरेपछि केही आक्रामक रूपमा खुशी मनाएका थिए। उक्त खेलमा उनलाई म्याच फीको ६० प्रतिशत जरिवाना गरिएको थियो।
कोलकाता १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।