काठमाडौँ। रोयल च्यालेन्जर्स बेंगलुरुका ओपनर विराट कोहलीले गुजरात टाइटन्सविरुद्ध ४४ बलमा ७० रनको अविजित इनिङ्स खेलेर आलोचकहरूलाई जवाफ दिएका छन्।
कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल)का ७ सिजनमा ५०० भन्दा बढी रन बनाएका छन्। यद्यपि, यो उपलब्धिले कोहली आफैँलाई खासै मतलब छैन। स्पिनरहरूविरुद्ध कम स्ट्राइक रेट हुनु चिन्ताको विषय नभएको उनले बताए।
गुजरातविरद्ध ब्याटिङ शुरू गर्नुअघि कोहलीले यस सिजनमा तीव्र गतिका बलरविरुद्ध १६१.६२ र स्पिनरविरुद्ध १२३.५७ को स्ट्राइक रेटमा रन बनाएका थिए।
‘स्पिनविरूद्ध मेरो स्ट्राइक रेटको बारेमा मात्रै कुरा गर्छन्। तर, मेरो ध्यान सधैँ यसमाभन्दा पनि टोलीलाई जिताउनेमा हुन्छ। कमेन्टरी बक्सबाट बोल्न र आफ्नो विचार व्यक्त गर्न सजिलो हुन्छ। पूर्वाग्रह नराखि हेर्ने हो भने लामो समय क्रिकेट खेलेकाहरूले मैदानमा के भइरहेको छ बुझिरहेका हुन्छन्,’ उनी भन्छन्।
बेंगलुरु ६ अंक जोडेर पनि अंक तालिकाको अन्तिम स्थानमा छ। तर, शुरूका ८ मध्ये १ खेल मात्रै जितेको बेंगलुरुको सकारात्मक पक्ष भनेको लगातार दुई जित्नु नै रहेको छ।
गुजरातसँग खेल्नुअघि बेंगलुरुले सनराइजर्स हैदरावादलाई ३५ रनले पराजित गरेको थियो। त्यसपछि गुजरातमाथि बेंगलुरुले ९ विकेटको सानदार जित हासिल गर्यो।
‘हामी आफ्नो आत्मसम्मानका लागि खेल्ने प्रयास गरिरहेका थियौं। हाम्रो फोकस मैदानमा गएर खेल्न चाहेको खेल खेल्ने थियो। हामी बलरहरूले बढी आक्रामकताका साथ खेलिरहेका थिए। हामीले यस प्रतियोगितामा धेरैजसो यसरी नै खेल्दै आएका छौँ,’ उनले भने।
‘चेन्जिङ रुम’को वातावरण राम्रो भएको उनले बताए। त्यसैले जितलाई कायम राख्न खेल्ने उनको भनाइ थियो।