काठमाडौँ। दिल्ली क्यापिटल्सका अलराउन्डर मिचेल मार्सले इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी सबै खेल गुमाउने भएका छन्।
मार्स अहिले दाहिने ह्यामस्ट्रिङको समस्याबाट निको भइरहेका छन्। यो चोटबाट निको भएपछि उनी भारत नफर्किने र अस्ट्रेलियामै रहने मुख्य प्रशिक्षक रिकी पोन्टिङले जानकारी दिए।
क्रिकेट अस्ट्रेलिया (सीए) मेडिकल स्टाफसँग परामर्श गर्न मार्स १२ अप्रिलमा पर्थ फर्केका थिए। मार्सलाई आफ्नो चोट निको पार्न र फलोअप गर्नुपर्ने भएकाले उनी आईपीएलमा फर्कने या नफर्किने निर्णय गर्न ढिलाइ भएको थियो।
'उनी फर्किन्छन् भन्ने मलाई लाग्दैनन्। मार्स चोटबाट निको होस् भन्ने सीए चाहन्छ। त्यसैले हामीले उनलाई घर पठाएका थियौँ। सीएका मेडिकल स्टाफले केही सातादेखि उनको रिह्यावमा काम गरिरहेका छन्। मैले उनीसँग कुरा गरेको छु। हालसालै त्यो चोटबाट निको हुन अपेक्षा गरेभन्दा धेरै समय लिइरहेको जानकारी मार्सले दिएका छन्। यद्यपि, उनी टी-२० विश्वकपअघि ठीक हुनेछन् भन्ने मलाई लाग्छ,' पोन्टिङले भने।
मार्सले यो सिजन दिल्लीका लागि चार खेल मात्र खेलेका छन्। जसमा उनले ६१ रन मात्र बनाएका थिए। ३ इनिङ्समा उनको उच्च स्कोर २३ थियो। यसबाहेक ८ ओभर बलिङ गर्दा उनले १२.८७ को इकोनोमीमा १ विकेट लिएका छन्।
मार्सले सिजनको बीचमा टोली छाड्नु परेको यो लगातार दोस्रो सिजन हो। सन् २०२३ मा पनि उनले दिल्लीका लागि ९ खेल मात्र खेलेका थिए।
दिल्ली अहिले ३ जित र ५ हारसहित अंक तालिकाको आठौँ स्थानमा छ। यद्यपि, दिल्लीले अझै ६ खेल खेल्न बाँकी छन् र प्लेअफको सम्भावना जिवितै छ।