काठमाडौँ। कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–२० च्याम्पियनसिपमा लगातार तेस्रो जित हासिल गरेको छ। सोमबार सम्पन्न दिनको पहिलो खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको हो।
कर्णालीले दिएको १६९ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रन मात्रै बनायो।
गण्डकीका अर्जुन कुमालले सर्वाधपक ७० रन बनाए। ५५ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। रोशन गौतम २३, दीपक डुम्रे १४, ईश्वर क्षेत्री १२ रनमा आउट हुँदा कप्तान विपिन खत्री १७ र सन्दीप क्षेत्री १९ रनमा अविजित रहे।
कर्णालीका दिवश पुन, प्रकाश जैशी र युनिश ठकुरीले १/१ विकेट लिए।
त्यसअघि मथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६८ रन बनायो।
कर्णालीका विपिन रावलले सर्वाधिक ६८ रन बनाए। ४३ बल खेलेका उनले ४ चौका र छक्का प्रहार गरे। रवीन्द्र शाही ३३ र अर्जुन घर्ती २८ रनमा आउट हुँदा दिनेश अधिकारी २९ रनमा अविजित रहे।
गण्डकीका अमृत गुरुङ एक्लैले ४ विकेट लिए। जितसँगै दोस्रो स्थानमा उक्लिएको कर्णालीले ४ खेलबाट ६ अंक जोडेको छ। एक खेल बढी खेलेको गण्डकी २ अंकसहित छैटौँ स्थानमा छ।