काठमाडौँ। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको छ।
कोलकाताले दिएको २२३ रनको लक्ष्य पछ्याएको बेंगलुरुले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै २२१ रन मात्रै बनाउन सकेको हो।
बेंगलुरुका विल ज्याक्सले सर्वाधिक ५५ रन बनाए। ३२ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। रजत पाटिदार ५२, दिनेश कार्तिक २५, सुयश प्रभुदेसाई २४,करण शर्मा २० र विराट कोहली १८ रनमा आउट हुँदा अन्यले राम्रो खेल प्रदर्शन गर्न सकेनन्।
कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। सुनिल नारायण र हर्षित राणाले २/२ विकेट लिँदा मिचेल स्टार्क र वरुण चक्रवर्तीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि इडेन गार्डेनमा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२२ रन बनायो।
कोलकाताका श्रेयस अय्यरले सर्वाधिक ५० रन बनाए। ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरे। फिल साल्ट ४८, रिन्कु सिंह २४ र सुनिल नारायण १० रनमा आउट हुँदा आन्द्रे रसेल २७ र रमनदीप सिंह २४ रनमा अविजित रहे।
बेंगलुरुका क्यामरुन ग्रीन र यश दयालले २/२ विकेट लिए। मोहम्मद सिराज र लकी फर्ग्युसनको नाममा १/१ विकेट रह्यो।
जितसँगै दोस्रो स्थानमा रहेको कोलकाताले ७ खेलबाट १० अंक जोडेको छ। पराजित बेंगलुरु एक खेल बढी खेल्दै २ अंकसहित पुछारमा छ।