काठमाडौँ। वसन्त खत्री नायक बन्दा सुदूरपश्चिम प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ।
आइतबार सम्पन्न आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३ रनले पराजित गरेको हो।
जितसँगै सुदूरले ३ खेलबाट चार अंक जोडको छ। सुदूर पहिलो खेलमा कर्णालीसँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पुनरागमन गर्दै गण्डकीमाथि ९ विकेटको जित हासिल गरेको थियो।
पराजित कोशी ३ खेलको समाप्तिमा अंकविहीन छ। सुदूरले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन मात्रै बनाउन सक्यो।
अन्तिम ओभरमा कोशीलाई जितका लागि १५ रनको आवश्यक थियो। तर, वसन्त खत्रीले अन्तिम ओभरमा ११ रन मात्रै दिएपछि सुदूरले जित पक्का गरेको हो।
वसन्तले पहिलो बल डट राखेका थिए। तर, दोस्रो बलमा दीपेश कँडेलले चौका प्रहार गरे। तेस्रो बलमा दीपेशले १ रन लिए। चौथो बलमा सर्वन यादवले १ रन लिए।
पाँचौँ बलमा दीपेशले चौका प्रहार गर्दा कोशीलाई अन्तिम बलमा ४ रनको आवश्यक थियो। तर, दीपेशले १ रन मात्रै लिन सके।
सर्वनले अविजित रहँदै सर्वाधिक ४६ रन बनाए। २७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। ओपनर मिनाश थापा ३४, समीर कार्की २२ र भूपाल दंगाल १२ रनमा आउट हुँदा दीपेश २१ रनमा अविजित रहे।
सुदूरका नारायण जोशीले सर्वाधिक २ विकेट लिए। नरेन साउद र वसन्त खत्रीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनायो।
सुदूरका ओपनर अभिषेक पालले सर्वाधिक ६० रन बनाए। ४१ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे।
गजेन्द्र बोहरा २९ रनमा आउट हुँदा दीपक बोहरा ३२ रनमा अविजित रहे। अन्यले भने सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्।
कोशीका ज्ञानेन्द्र श्रेष्ठ र अंकित सुवेदीले २/२ विकेट लिए। शरवन किस्कु र सौजन घिमिरेको नाममा १/१ विकेट रह्यो।