काठमाडौँ। सुदूरपश्चिम प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ।
शनिबार सम्पन्न दिनको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो। जितसँगै चौथो स्थानमा उक्लिएको सुदूरपश्चिमले २ खेलबाट २ अंक जोडेको छ। सुदूरपश्चिम पहिलो खेलमा कर्णालीसँग ४ विकेटले पराजित भएको थियो।
पाँचौँ स्थानमा रहेको गण्डकीको यो तेस्रो हार हो। गण्डकी लुम्बिनीसँग ७ विकेट र बागमतीसँग ६७ रनले पराजित भएको थियो। मधेशलाई भने ८ विकेटले पराजित गरेको थियो।
गण्डकीले दिएको ११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले अन्तिम ओभर बाँकी रहँदा नै १ विकेट गुमाएर १२१ रन बनायो। सुदूरपश्चिमका अभिषेक पालले सर्वाधिक ४९ रन बनाए। ४६ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे।
यस्तै, राजु रिजाल २९ र बसन्त खत्री ३७ रनमा अविजित रहे।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको गण्डकीले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनायो।
गण्डकीका कप्तान विपिन खत्रीले अविजित रहँदै सर्वाधिक ३० रन बनाए। १९ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे। रोशन गौतम २८, दिनेश बूढामगर १५ र करण पंगेनी १५ रनमा आउट भए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
गण्डकीका नारायण जोशी, शेर मल्ल र नरेन भट्टले २/२ विकेट लिए। हेमन्त धामी र नरेन साउदको नाममा १/१ विकेट रह्यो।