काठमाडौँ। साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। शुक्रबार सम्पन्न खेलमा यूएईसँग नेपाल ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको १२० रनको लक्ष्य पछ्याएको यूएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनायो।
यूएईका अलिशान शराफुले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए। ४१ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे।
विष्णु सुकुमारन २८, सैय्यद हैदर १४ र मोहम्मद वासिम ११ रनमा आउट हुँदा आयान अफजल खान २ रनमा अविजित रहे।
नेपालका गुल्शनकुमार झाले सर्वाधिक २ विकेट लिए। सोमपाल कामी र ललितनारायण राजवंशीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो।
नेपालका सन्दीपले सर्वाधिक ५० रन बनाए। ४० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। गुल्शनकुमार झा २० र करण केसी १७ रन बनाएर आउट भए।
अन्यको भने प्रदर्शन राम्रो हुन सकेन। नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए।
अर्का ओपनर आशिफ शेख ८, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २, रन बनाएर पेभिलियन फर्किए।
अभिनाश बोहरा १ र ललितनारायण राजवंशी २ रनमा अविजित रहे। यूएईका जुनैद सिद्दिकी, अलि नासिर र बसिल हमिदले २/२ विकेट लिए।
त्यस्तै, ओमिद शफी रहमान, आयान अफजल खान र मोहम्मद फारुखको नाममा १/१ विकेट रह्यो।