काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख भारू जरिवाना तिराइएको छ।
मंगलबार कोलकातामा राजस्थान रोयल्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण अय्यरलाई जरिवाना लगाइएको हो
राजस्थानसँग कोलकाता २ विकेटले पराजित भएको छ। इडेन गार्डेन स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो। कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो। सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए। राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनाएको थियो।
२०औँ ओभरमा राजस्थानलाई जितका लागि ९ रन आवश्यक थियो। कोलकाताले निर्धारित समयमा ओभर पूरा गर्न सकेको थिएन। जसका कारण अन्तिम ओभरमा अय्यरले ५ को सट्टा ४ खेलाडी मात्रै बाउन्ड्रीमा पठाउन पाएका थिए।
यो सिजन कोलकाताको टोलीको पहिलो गल्ती भएकोले आईपीएलको आचारसंहिता अनुसार न्यूनतम सजाय दिइएको बताइएको छ।