काठमाडौँ। अन्तिम ओभरमा बिलाल खानले उत्कृष्ट प्रदर्शन गर्दा ओमानले प्रिमियर कपको पहिलो खेलमा बहराइनमाथि रोमाञ्चक जित हासिल गरेको छ।
शुक्रबार सम्पन्न समूह ‘बी’ को खेलमा ओमानले बहराइनलाई ३ रनले पराजित गरेको हो। ओमानले दिएको १७८ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन मात्रै बनाउन सक्यो।
बहराइनलाई अन्तिम ओभरमा जितको लागि १० रन चाहिएको थियो। तर, बिलाल खानले ओभरको पहिलो बलमा अहमर बिन नासिरलाई चौका दिए।
त्यसपछिका दुई बल डट राखेका उनले चौथो बलमा २ रन दिए। पाँचौँ बल डट राख्दा बहराइनलाई जितका लागि १ बलमा ४ रन चाहिएको थियो। तर, बिलालले १ रन मात्रै दिए र ओमान ३ रनले विजयी भयो।
बहराइनका इमरान अलीले सर्वाधिक ५० रन बनाए। ३४ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। कप्तान हैदर बट ४७ र रिजवान बट १२ रनमा आउट हुँदा नासिरले अविजित रहँदै ४७ रन बनाए।
ओमानका बिलाल खान, शकिल अहमद र फै्य्यज बटले २/२ विकेट लिए।
त्यसअघि अल अमेरत क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १)मा टस हारेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७७ रन बनायो।
ओमानका अकिब इलियासले सर्वाधिक ६२ रन बनाए। ५३ बल खेलका उनले २ चौका र २ छक्का प्रहार गरे।
कश्यप प्रजापति ३८ र नसिम खुसी १८ रनमा आउट हुँदा कप्तान जिशान मक्सूद ४५ र रफिउल्लाह ९ रनमा अविजित रहे।
बहराइनका अलि दाउद, रिजवन बट र अब्दुल मजिदले १/१ विकेट लिए।
समूह ‘बी’मा यूएई शीर्ष स्थानमा रहेको छ। यूएईले शुक्रबार नै भएको खेलमा कुवेतलाई ७ विकेटले पराजत गरेको थियो। ओमानको दोस्रो स्थानमा रहेको छ।