चितवन। गण्डकी प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदको पुरुष क्रिकेटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई ६८ रनले पराजित गर्यो।
चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले दिएको १७५ रनको लक्ष्य पछ्याएको कर्णालीले १६ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०६ रन बनायो।
कर्णालीका लागि विपिन रावलले ३८ रन बनाउँदा मनिष शाहीले १७ तथा विपिनविक्रम शाहीले १३ रन जोडे। गण्डकीका लागि कमल परियारले चार विकेट लिँदा विपिन खत्रीले तीन विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १७४ रन बनाएको थियो। गण्डकीका लागि ईश्वर क्षेत्रीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, विपिन क्षेत्रीले ३८ रन बनाउँदा सन्दीप क्षेत्रीले २८ रनको योगदान गरे। कर्णालीका लागि दिनेश अधिकारीले पाँच विकेट लिँदा दीपेन्द्र रावतले पाँच विकेट लिए।
बिहीबारै भएको अर्को खेलमा लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै मधेश प्रदेशले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मधेशले दिएको १७६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १५ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९९ रन जोड्न सक्यो। अब मधेश प्रदेशले फाइनल प्रवेशका लागि सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ।