काठमाडौँ। विराट कोहलीले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल)मा १४६ को स्ट्राइक रेटमा रन बनाएका छन् ।
सन् २०१६ मा मात्र उनले योभन्दा बढी स्ट्राइक रेटमा रन बनाए, जब उनी एक हजार रननजिक थिए। तर, अहिले उनी केही सुस्त देखिएका छन्।
आईपीएल २०२४ मा गत शनिबार राजस्थान रोयल्सविरुद्ध पहिलो शतक प्रहार गरेपछि कोहलीले भने, ‘म त्यस्तो कुनै पूर्वनिर्धारित भएर ब्याटिङ गर्न आएको थिइन्। पिच जस्तो छ, त्यही अनुसार ब्याटिङ गरे। पिच सोचेभन्दा फरक भएको कारण मैले केही सुस्त ब्याटिङ गरेँ।’
कोहली जोखिम लिन तयार देखिएका थिएनन्। उनले ६७ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै आफ्नो आठौँ आईपीएल शतक बनाए।
यो भारतीय भूमिमा बनेको अहिलेसम्मकै सबैभन्दा ढिलो शतक हो। यसअघि बेंगलुरूबाट खेल्दै मनिष पाण्डे सन् २००९ मा डेक्कन चार्जर्सविरुद्ध दक्षिण अफ्रिकामा ६७ बलमा शतक बनाएका थिए।
कोहलीकोले ३९ बलमा अर्धशतक पूरा गरेका थिए। अर्को ५० रन बनाउन उनले २८ बल खेले। आईपीएलमा उनको यो सबैभन्दा सुस्त शतक हो। कोहली १९औँ ओभरमा ९८ रन बनाएर कृजमा थिए।
उक्त ओभरमा बेंगलुरूले एक बाउन्ड्री पनि प्रहार गर्न सकेनन् र चार रन मात्र बनायो। जसका कारण बैंगलुरूको रन रेट पनि घट्यो। तर, कोहली परस्थितिलाई बुझेर ‘स्लो’ खेलेको बताउँछन्।
‘धेरै आक्रामक हुनुहुन्न भनेर मलाई थाहा थियो। म जुनसुकै बेला रन रेट बढाउन सक्थे, किनभने बल मेरो ब्याटमा राम्रोसँग आइरहेको थियो। बलरहरू मलाई आउट गर्न चाहन्थे। तर, ६ ओभरभन्दा बढी ब्याटिङ गरे र म सेट भएँ भने राम्रो स्कोरमा पुग्ने सम्भावना बढ्छ भन्ने मलाई थाहा थियो। म परिस्थिति अनुसार खेल्छु र मसँग हरेक परिस्थितिमा खेल्ने दुईतीन फरक तरिकाहरू छन्,’ उनले भने।
खेलपछि कोहलीले विकेट बाहिरबाट हेर्दाभन्दा फरक रहेको बताए। यद्यपि, राजस्थानविरुद्ध २० ओभरमा बेंगलुरूले ३ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। यो स्कोर आफ्ना लागि प्रभावशाली रहेको कोहलीको बुझाइ छ।
‘विकेट समतल छजस्तो लाग्छ। तर, यहाँ अचानक गतिमा परिवर्तन हुन्छ। हाम्रो योजना सरल थियो। हामीमध्ये एक (विराट या फाफ डुप्लेसी) ले अन्तिमसम्म ब्याटिङ गर्ने योजना बनाएका थियौँ। यो पिचमा यो स्कोर प्रभावशाली रहेको मलाई लाग्छ,’ उनले भने।