काठमाडौँ। दक्षिण अफ्रिकाले आईसीसी विश्वकप २०२७ का लागि ८ भेन्यूको घोषणा गरेको छ। तीन देश दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले सन् २०२७ को एक दिवसीय विश्वकप आयोजना गर्ने छन्। प्रतियोगिता अक्टोबर–नोभेम्बरमा हुनेछ।
दक्षिण अफ्रिकाका जोहानेसबर्गको वान्डरर्स, प्रिटोरियाको सेन्चुरियन पार्क, डरबनमा किंग्समीड, गेबरहाको सेन्ट जर्ज पार्क, पार्लको बोल्यान्ड पार्क र केप टाउनको न्यूल्यान्ड्स मेन वेन्यूमा प्रतियोगिताहरू आयोजना हुने छन्।
ब्लोमफन्टेनको मङ्गाउङ ओभल र पूर्वी लन्डनको बफेलो पार्कले पनि विश्वकपका खेलहरू आयोजना गर्नेछन्। क्रिकेट दक्षिण अफ्रिका (सीएसए) सीईओ फोलेत्सी मोसेकीले दक्षिण अफ्रिकाको सञ्चार संस्था न्यूज २४ सँग कुरा गर्दै मैदान छनोट सोचविचार गरी गरिएको बताए। यसमा होटल कोठाको संख्या र एयरपोर्ट उपलब्धता पनि समावेश रहेको उनले बताए।
दक्षिण अफ्रिका र जिम्बाब्वेले आईसीसी एक दिवसीय विश्वकप इतिहासमा दोस्रो पटक आयोजना गर्न लागेको हो। यसअघि दुवै देशले सन् २००३ मा विश्वकप आयोजना गरेका थिए। तर, नामिबियाले प्रतियोगिता आयोजना गर्ने अवसर पाएको यो पहिलो पटक हो।
यस विश्वकपमा १४ टोलीको सहभागिता रहनेछ। दक्षिण अफ्रिका र जिम्बाब्वे आयोजक राष्ट्रका रूपमा छनोट भइसकेका छन्। एक दिवसीय विश्व वरीयताका आधारमा ८ टोली छनोट हुनेछन्। आईसीसीको ग्लोबल क्वालिफायर प्रतियोगिताअन्तर्गत ४ टोली छनोट हुनेछन्।