काठमाडौँ। गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सको अपराजित यात्रामा ब्रेक लगाइदिएको छ।
बुधबार राति सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो। राजस्थान पछिल्ला चार खेलमा अपराजित रहँदै ८ अंकसहित शीर्ष स्थानमा थियो।
राजस्थानले लखनउ सुपर जायन्ट्स, दिल्ली क्यापिटल, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरूलाई पराजित गरेको थियो।
राजस्थानले दिएको १९७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनायो।
गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाए। ४४ बल खेलका उनले ६ चौका र २ छक्का प्रहार गरे। साई सुदर्शन ३५, राहुल तेवतिया २२, विजय शंक १६ र शाहरुख खान १४ रनमा आउट हुँदा राशिद खान २४ रनमा अविजित रहे।
राजस्थानका कुलदीप सेनले सर्वाधिक ३ विकेट लिए। युजवेन्द्र चहलले २ विकेट लिँदा १ विकेट आवेश खानको नाममा रह्यो।
त्यसअघि ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। राजस्थानका रियान परागले सर्वाधिक ७६ रन बनाए।
४८ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे। यशस्वी जयसवाल २४ रनमा आउट हुँदा कप्तान सन्जु सामसन ६८ र शिमरोन हेटमायर १३ रनमा अविजित रहे।
गुजरातका उमेश यादव र मोहित शर्माले १/१ विकेट लिए। जितसँगै छैटौँ स्थानमा रहेको गुजरातले ६ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ। एक खेल कम खेलेको राजस्थान ८ अंकसहित शीर्ष स्थानमा कायमै छ।