काठमाडौँ। अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी र कर्णाली प्रदेशले सहज जित हात पारेको छन्। बुधबार भएको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३२ रनले हराएको हो।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकीले दिएको २३५ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमामा ७ विकेट गुमाउँदै मात्र २०२ रन बनायो।
बागमतीका लागि रोबिन जोशीले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, शुभ कंसकार र तिलकराज भण्डारीले ३७–३७ रन बनाउँदा उत्तम थापामगरले २५ रन जोडे। गण्डकीका लागि विपिन खत्री र शुभास भण्डारीले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३४ रन बनाएको थियो। गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतकीय पारी खेले।
दीपकले ७५ रन बनाउँदा अर्जुनले ५५ रन बनाए। सन्दीप खत्रीले २७ रन बनाउँदा करनले २४ रन बनाए। बागमतीका लागि रिजन ढकाल र कृजन गुरुङले एक–एक विकेट लिए।
आज नै भएको दोस्रो खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि १० रनको जित हात पारेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कर्णालीले दिएको २०९ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १९८ रन बनायो।