काठमाडौँ। कर्पोरेट सुपर सिक्सेस क्रिकेट सिजन–७ आगामी बैशाखको अन्तिम सातादेखि शुरू हुने भएको छ।
आयोजक एसएस एभेन्ट्स प्राली र नेकोसले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी बैशाख २३ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो।
तीन वर्षपछि आयोजना हुन लागेको प्रतियोगितामा कुल २४ टोलीले प्रतिस्पर्धा गर्नेछन्। पाँच ओभरमा खेलाइने प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुने भएको छ। सो प्रतियोगितामा नेपाल क्रिकेट संघ(क्यान) को प्राविधिक सहयोग रहने एसएस इभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियारले जानकारी दिए।
सन् २०१४ शुरू भएको कर्पोरेट सुपर सिक्सेसको छैटौँ सिजनसम्म एसएस एभेन्ट्सले नै आयोजना गर्दै आएको थियो। सातौँ सिजनदेखि नेकोस जोडिएको हो।
यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्। प्लेयर अफ दी टुर्नामेन्ट, वेस्ट ब्याट्सम्यान, वेस्ट बलर, वेस्ट फिल्डर र वेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन्। आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने छ।