काठमाडौँ। नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल आउट भएका छन्। योसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आयरल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाचौँ विकेट गुमाएको छ।
रोहित २४ बलमा ५ चौकासहित ३३ रन बनाएर निल रकबाट क्याच आउट भएका हुन्।
नेपालले तेस्रो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाएको थियो। नेपालका ओपनर आरिफ शेख ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रनमा आउट भए।
उनी आयरल्यान्ड वल्भ्सका म्याथ्यु फोस्टरको बलमा स्टेफन डोहेनीबाट क्याच आउट भएका हुन्।
पाँचौँ ओभरको तेस्रो बलमा कुशल भुर्तेल पनि फोस्टरको बलमा स्टेफनबाट क्याच आउट भए। कुशलले १६ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए।
सातौँ ओभरको पाँचौँ बलमा अनिल साह ११ बलमा २ चौकासहित १२ रन बनाएर फिओन ह्यान्डको बलमा स्टेफनबाट क्याच आउट भएका थिए।
त्यसपछि क्रिजमा आएका गुल्शनकुमार झाले कप्तान रोहितकुमार पौडेलसँग ७१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए।
तर,अर्धशतकनजिक पुगेर गुल्शन निल रकबाट ४६ रनमा क्याच आउट भए। उनले ३२ बलमा १ चौका र ४ छक्का प्रहार गरे।