काठमाडौं । आयरल्याण्ड एविरुद्धको पहिलो टी ट्वान्टी खेलमा नेपाल विजयी बनेको छ ।
सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले आयरल्याण्ड 'ए'लाई ६ विकेटले हराएको हो ।
आयरल्याण्डले प्रस्तुत गरेको १ सय २२ रनको सामान्य लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा नायक रहे, कुशल भुर्तेल । उनले अविजित ३७ रन बनाए ।
सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी २० रनमा अविजित रहे । आसिफ शेख १६ रनमा आउट भए ।
कप्तान रोहित पौडेल शुन्य रनमा आउट भएको खेलमा गुलसन झाले ४ रन बनाए ।
ग्यारेथ डेलानीले २ तथा बेन व्हाइट र थोमस मेयरले समान एक एक विकेट हात पारेका थिए ।
यसअघि कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड एले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।
आयरल्याण्डको ए टिमलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले समान २ विकेट लिएका थिए । करन केसी र कुशल मल्लको नाममा समान एक एक विकेट रह्यो ।
आयरल्याण्ड उल्भ्सका लागि स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाए । थोमस मेयर र लियाम मेक्कार्थीले समान १६ रनको योगदान दिए । फिओन हाथले ११ रनमा आउट भए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपाल भ्रमणमा रहेको आयरल्याण्ड उल्भ्ससँग नेपालको सिनियर टिमले दुई टी ट्वान्टी खेल्नेछ । त्यस्तै नेपाल एले तीन टी ट्वान्टी सिरिज र तीन वान डे सिरिज खेल्नेछ ।