काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ ।
अरुण जेट्ली स्टेडियममा भएको खेलमा मुम्बईले घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले ।
तिलक बर्माले २९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४१ रनको ईनिङ खेले । कप्तान रोहित र तिलकले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे ।
इसान किसनले २६ बलमा ३१ रन बनाए ।
दिल्लीका लागि मुकेश कुमारले २ तथा मुस्ताफिजुर रहमानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ दशमलब ४ ओभरमा अलआउट भएर १ सय ७२ रन मात्र बनायो ।
दिल्लीका लागि ओपनर तथा कप्तान डेविड वार्नरले ४७ बलमा ६ चौका सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले।
अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । छैटौं विकेटका लागि कप्तान वार्नर र पटेलले ६७ रनको साझेदारी गरे ।
मनिष पान्डेले १८ बलमा २६ तथा पृथ्वी शाले १५ रन बनाए । १९ औं ओभरमा दिल्लीले अक्षर र कप्तान वार्नर सहित ४ विकेट गुमाएपछि मुम्बईले खेलमा पुनरागमन गरेको थियो ।
पछिल्लो १० बलमा दिल्लीले ५ विकेट गुमाएको थियो ।
मुम्बईका लागि पीयुष चावला र जेशन बेरेनडर्फले समान ३/३ विकेट लिए । रिलि मिरिडेथ २ तथा ऋतिक शोकिनले १ विकेट लिए ।
पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।
पहिलो खेलमा मुम्बई रोयल च्यालेन्जर्स बेंग्लारसँग पराजित हुँदा दोस्रो खेलमा भने चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।
तेस्रो खेल पहिलो जित हात पारेको मुम्बई २ अंकका साथ १० टोली सहभागी लिगको आठौं स्थानमा रहेको छ ।
चार खेलमा अंकबिहिन दिल्ली पुछारमा रहेको छ ।