काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा आज सोमबार नेपालले घरेलु टोलीसँग खेल्दै छ ।
यस सिरिजको अन्तिम खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो ।
नेपाल र यूएईबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ मा सुरु हुदैछ ।
यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।
त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ । शुक्रबार पपुवा न्यु गिनीसँग खेलेको टोलीमा आज एक परिवर्तन हुनेछ । ग्रोईन इन्जुरीका कारण यूएईविरुद्धको खेल गुमाएका ओपर कुशल भुर्तेलको स्थानमा अर्को खेलाडीले मौका पाउने छन्।
नेपालले ओपनरका रुपमा आसिफ शेख र ज्ञानेन्द्र मल्लको जोडी रहने सम्भावना रहेको छ । नेपाललाई बलियो स्थितिमा पुर्याउन ज्ञानेन्द्र र आसिफको जोडीले राम्रो सुरुआत दिनुपर्ने हुन्छ ।
तीन नम्बरमा भिम सार्कीले मौका पाउने सम्भावना छ ।
चौथो र पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले स्थान बनाउने छन् । कप्तान पौडेलले सदा झैं आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ ।
छैटौं नम्बरमा अलराउण्डर आरिफ शेख रहने सम्भावना रहेको छ । शेखले छैटौं नम्बरमा खेल्ने सम्भावना प्रवल रहेको छ ।
अलराउण्डर कुशल मल्ल सातौं स्थानमा रहँदा आठौं नम्बरमा सन्दीप जोरा को सम्भावना रहेको छ । कुशल लामो सट प्रहार गर्न सक्ने विस्फोटक ब्याटरका साथ केही ओभर बलिङमा समेत टोलीको साथ दिने खेलाडी हुन् ।
नवौं र दशौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् । केसी र सोमपाल तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङ समेतको क्षमता राख्छन् ।
एघारौं नम्बरमा स्पिनर सन्दीप लामिछाने रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेट किपर),ज्ञानेन्द्र मल्ल,भिम सार्की, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),आरिफ शेख,सन्दीप जोरा,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने