काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाल र यूएई एकै समूहमा परेका छन् ।
एसिया कप तथा एसिया ईमजिङ कपको छनोटको रुपमा रहेको प्रतियोगिता आगामी अप्रिलमा नेपालमा आयोजना हुदैछ ।
प्रतियोगितामा दश टोलीको सहभागीता रहने छ ।
च्यालेन्जर कपको फाइनलमा स्थान बनाएका बहराईन र साउदी अरेविया एसीसी प्रिमियर कपका लागि छनोट भएसँगै प्रतियोगितामा सहभागी रहने सबै टोलीको टुङ्गो लागेको हो ।
सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल र यूएई समूह 'ए' मा रहेका छन् ।
समूह 'ए' मा नेपाल र यूएईको साथमा च्यालेन्जर कपको च्याम्पियन साउदी अरेविया,कतार र कुवेत रहेका छन् ।
समूह 'बी' मा हङकङ,ओमान,मलेसिया,सिंगापुर र बहराईन रहेका छन् ।
दुई समूहका शीर्ष स्थानमा रहने समान २/२ टोलीले सेमिफाइनल खेल्नेछन् ।
पहिलो पटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट प्रतियोगिता हो ।
एकदिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरु सम्मिलित एसिया कप खेल्न पाउनेछ ।
एसिया कप सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । तर भारत र पाकिस्तानका कारण प्रतियोगिता यूएईमा सर्ने सम्भावना छ ।
प्रिमियर कपको विजेताले समूह 'ए' मा हुने भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
एसिया कपको समूह 'बी' मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।
प्रिमियर कपको शीर्ष ३ मा रहने टोली भने इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछ ।
इमर्जिङ टिम्स एसिया कपमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रका यू-२३ टिमको सहभागीता रहन्छ ।