काठमाडौं । नेपाल एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै राख्दै आगामी जुन जुलाईमा जिम्बाबेमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउने लक्ष्यका साथ विश्वकप लिग टूको अन्तिम अन्तराष्ट्रिय सिरिज भोली सोमबारबाट खेल्दैछ ।
गत साता मात्र स्कटल्यान्ड र नामिबियाविरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिजमा निकालेको शतप्रतिशत जितलाई कायम राख्ने चुनौती रहेको छ । विश्वकप लिग टूमा मात्र नभई नेपालको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको ईतिहासमा नै लगातार चार जित हात पारेर विश्वकप लिग टू मा शीर्ष तीनको सम्भावना कायमै राखेको नेपालले यूएईमा पनि सोही लय देखाउँला त ?
मुख्य प्रशिक्षकका रुपमा मोन्टी देशाईको आगमन पश्चात राष्ट्रिय क्रिकेट टिममा देखिएको माहोल लोभलाग्दो त छदैछ । उनको आगमनसँगै टिमले सकारात्मक नतिजा दिएकोलाई पनि अद्भुद मान्न सकिन्छ । उनको आगमन पश्चात जस्तो खेल पनि हामी जित्न सक्छौ भन्ने भावना खेलाडीमा पैदा हुनुलाई नै सकारात्मक मान्न सकिन्छ ।
नयाँ मुख्य प्रशिक्षकको नयाँ रणनीतिले काम गरेको हो । अथवा नेपाली खेलाडीमा आफ्नो घरेलु मैदानमा मात्र सकारात्मक नतिजा निकाल्ने पराम्परागत बानीले काम गरेको हो । यो यूएई भ्रमणमा प्रमाणित हुने विषय हो ।
विश्वकप छनोटमा सिधै स्थान बनाउँन बाँकी रहेका आठ मध्ये सात खेल अनिवार्य रुपमा जित्न आवश्यक रहेको छ । ७ खेलमा पनि यूएईसँग कम्तिमा ३ खेल जित्नै पर्ने हुन्छ । यूएईले पनि ८ खेल नै खेल्न बाँकी छ । उसले ६ खेल जितेमा शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्नेछ । यसको लागि यूएईलाई उसकै घरमा हराउन नेपाल तयार हुनुपर्छ ।
यति भनि रहँदा पीएनजी विरुद्धको खल समेत नेपाललाई चुनौतीपूर्ण नै रहेको छ । गत वर्ष नेपाललाई नेपालमा नै दुई खेलमा पराजित गरेको पीएनजी पनि बलियो रहेको छ ।
नेपालका बाँकी खेल
चार खेल यूएईमा गएर खेल्ने नेपालले बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ ।
नेपाली टिम आज यूएई भ्रमणमा गएको नेपाली टोलीले त्यहाँ घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।
मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
यूएई भ्रमणको केही समयमा नै नेपालले आफ्नो घरेलु मैदानमा नेपालले यूएई र पपुवा न्युगिनीलाई अन्तिम विश्वकप लिग टू खेलका लागि निमन्त्रणा दिने छ ।
टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।