काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा आज आइतबार सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।
बलात्कारको आरोप लागेका सन्दीपलाई धरौटीमा छाड्ने की थुनामै राख्ने भन्ने मुद्दामा सर्वोच्च अदालतमा सुनुवाई हुने भएको हो । यस्तै सन्दीपले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने मागको मुद्दामा समेत सुनुवाई हुनेछ ।
क्रिकेट खेल्न विदेश जान पाउ भन्दै सन्दीपले दायर गरेको मुद्दामा शुक्रबार सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाले आइतबारका लागि पेशी तोक्न आदेश दिएको थियो ।
महान्यायाधिवक्ता कार्यालयले माघ १७ गते सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चमा यसै बिषयमा सुनुवाई केन्द्रित हुनेछ ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए । तर, उनलाई विदेश जान भने रोक लगाएको थियो ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।