काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार लुम्बिनीले काठमाडौंलाई १ सय २ रनले पराजित गरेको हो ।
काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरे पछि खेल १७ ओभरमा छोट्याईएको थियो ।
लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५.४ ओभरमा अलआउट भएर ८१ रन बनायो ।
काठमाडौंका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरी रनमा १६ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन बनाए ।
लुम्बिनीका लागि ह्यारी टेक्टर,कुशल भुर्तेल र इशान पाण्डेले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो ।
लुम्बिनीका लागि हरमित सिंहले ३६ बलमा ७० रनको अर्धशतकीय ईनिङ खेले । उनले पहिलो विकेटका लागि लाहिरु मिलान्थासँग मिलेर ९८ रनको साझेदारी गरे ।
मिलान्थाले २९ बलमा २६ रन बनाएर आउट हँदा गुलसन झाले ११ बलमा २१ रन बनाए । ह्यारी टेक्टर ८ बलमा १७ रनमा आउट हुँदा अनिल शाह १६ रनमा अविजित रहे । कुशल भुर्तेल १५ रन बनाए ।
काठमाडौंका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए ।
आठ खेल खेलेर ४ जित तथा ४ हार हात पारेर ८ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
नौ खेलमा सात जित हात पारेको लुम्बिनी १६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा पनि लुम्बिनीले काठमाडौंलाई हराएको थियो ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।