काठमाडौं । गृह मन्त्रालयले नेपाल टी ट्वान्टी लिगमा देखिएको विवाद छानविनका लागि निर्देशन दिएको छ ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै फ्रेन्चाईज क्रिकेट नेपाल टी ट्वान्टी लिगमा देखिएको विवाद छानविन गर्न निर्देशन दिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा काठमाडौंमा फ्रेन्चाईज क्रिकेट नेपाल टी ट्वान्टी लिग सञ्चालन भैरहेको छ ।
प्रतियोगितामा स्पट फिक्सिङ, खेलाडीको श्रम स्विकृति, बेटिङ्ग लगायतका विवाद बाहिर आएपछि गृह मन्त्रालयले घटनामा चासो राखेको हो ।
गृहमन्त्री रवि लामिछानेको नीजि सचिवालयले केन्द्रिय प्रधान कार्यालयलाई पत्र लेख्दै क्रिकेटमा देखिएको विवाद छानविनका लागि आवश्यक निर्देशन दिएको जानकारी खेलपाटीलाई दिएको छ ।
मंगलबारमात्र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टिमका सदस्यलाई फिक्सिङको प्रस्ताव आएको बताएका थिए । पूर्व कप्तान पारस खड्काले समेत स्पट फिक्सिङको घटनाले दुखी बनाएको उल्लेख गर्दै छानविन गरि कडा कारबाहीको माग गरेका छन् ।
मंगलबार बिहानैमात्र टी ट्वान्टी लिगमा कमेन्ट्री गरिरहेका एक सदस्यले 'स्पट फिक्सिङ'को दाबी सहित प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका छन् । आजै बिहानै खेलाडीले कुनै पारिश्रमिक नपाएको भन्दै विरोध गर्दै मैदानमै प्रवेश गरेका थिएनन् ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई साझेदार बनाएर क्यानले सञ्चालन गरिरहेको नेपाल टी ट्वान्टी लिग सुरुवातदेखिनै विवादमा परेको छ ।
बेटिङ्ग कम्पनीलाई ब्यापारिक साझेदार बनाएर क्रिकेट संघ क्यान पुन एक पटक विवादमा फसेको छ ।
पछिल्ला घटनाले नेपाली क्रिकेट अन्तराष्ट्रिय स्तरमै बदनाम बन्ने र पुन प्रतिबन्धसम्म पुग्न सक्ने भन्दै सरोकारवाला निकायले चिन्ता ब्यक्त गरेका छन् ।