काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाल टी ट्वान्टी लिगको निष्पक्ष छानविन गर्न माग गरेका छन् ।
काठमाडौंमा जारी फ्रेन्चाईज क्रिकेट प्रतियोगितामा स्पट फिक्सिङको घटना बाहिर आएपछि पूर्व कप्तान खड्काले निष्पक्ष छानविन गरेर दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।
पूर्व कप्तान खड्काले नेपाल टी ट्वान्टी लिगमा स्पट फिक्सिङ जस्तो गम्भिर अपराध भएको खबरले आफुलाई स्तब्ध बनाएको उल्लेख गर्दै यस खेलमा समर्पित सम्पुर्ण सरोकारवालाको विश्वासलाई सो घटनाले चोट पुर्याएको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा काठमाडौंमा जारी प्रतियोगितामा म्याच फिक्सिङका घटनाहरु बाहिर आएका छन् ।
मंगलबारमात्रै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टिमका सदस्यलाई म्याच फिक्सिङको प्रस्ताव आएको सार्वजनीक रुपमै अभिब्यक्ति दिएका थिए ।
खेलको दौरान स्पट फिक्सिङ हुने गरेको दाबी गर्दै टी ट्वान्टी लिगमा कमेन्ट्री गरिरहेका एक सदस्यले आजै बिहान खुलासा गर्दै काम छाडेका छन् ।
क्यान समेत संलग्न यस प्रतियोगितामा फिक्सिङको एकपछि अर्को खराब बाहिर आएपछि नेपाली क्रिकेटका सरोकारवाला निकायले चिन्ता ब्यक्त गरेका छन् ।