काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले जनकपुर रोयल्सलाई पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार लुम्बिनीले जनकपुरलाई ५ रनले हराएको हो ।
लुम्बिनीले दिएको १ सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।
जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।
कप्तान ट्राभोन ग्रिफिथ,शरफुदिन असरफ र सन्दिप जोराले समान २६/२६ रन बनाए । समिउल्लाह शिनवारीले १८ रन बनाए ।
लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले समान २/२ विकेट बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनायो ।
लुम्बिनीका लागि हरमित सिंह र लाहिरु मिलान्थाले बीचमा ७७ रनको ओपनिङ साझेदारी गरेका थिए ।
११.१ ओभरमा पहिलो विकेट गुमाएको लुम्बिनीका लागि हरमित सिंहले ४७ बलमा ७३ रनको अर्धशतकीय ईनिङ खेले । लाहिरु मिलान्था ३३ तथा ह्यारी टेक्टरले अविजित १८ रन बनाए ।
कुशल भुर्तेलले १७ रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए ।
जनकपुरका लागि सरफुदिन असरफले ३ तथा जितेन्द्र मुखिया,समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।
लुम्बिनी आठ खेलमा १४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
जनकपुर आठ खेलमा १० अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।