काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई जनकपुर रोयल्सले पराजित गरेको छ ।
टियु मैदानमा सोमबार भएको खेलमा जनकपुरले फार वेस्टलाई ८२ रनले हराएको हो ।
जनकपुरले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको फार वेस्टले १५.१ ओभरमा अलआउट हुँदै ७९ रन मात्र बनाउन सफल भयो ।
फार वेस्टका लागि कप्तान हजमतुल्लाह शाहिदीले ३२ तथा राशिद खानले अविजित १७ रन बनाए ।
जनकपुरका लागि समिउल्लाह शिनवारीले ३ तथा सोमपाल कामी र पवन सराफले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुर रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो।
जनकपुरका लागि सन्दिप जोराले ३२ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । उनले १ चौका र ५ छक्का प्रहार गरे।
कप्तान ट्राभोन ग्रिफिथले ३२ रन बनाउँदा चाल्डिक वाल्टन २४ रनमा आउट भए ।
सरफुदिन असरफले २० रन बनाउँदा राजेश पुलामीले १६ रन बनाए ।
फार वेस्टका लागि प्रकाश जैसीले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।
सात खेलमा पाँच जित र दुई हार सहित जनकपुर १० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
छ खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा फार वेस्ट जनकपुरसँग पराजित भएको थियो ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।