काठमाडौं । एलेक्स ब्लेकले बिष्फोटक ब्याटिङ गरे पछि काठमाडौं नाईट्सले पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।
काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले ।
उनले २३ बलमा अर्धशतक बनाएका हुन् । यस प्रतियोगितामा नै यो सर्वाधिक छिटो अर्धशतक हो ।
उनले ३ चौका र ७ छक्का प्रहार गरे । सुनाम गौतमले ४५ तथा विरनदिप सिंहले ३२ रन बनाए ।
पोखराका लागि तुलबहादर थापाले २ तथा प्रतिस जिशि र कुशल मल्लले समान १/१ विकेट लिए ।
पाँच खेल खेलेर ३ जित तथा २ हार हात पारेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
सात खेलमा दुई जित हात पारेको पोखरा चार अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा काठमाडौंले पोखरालाई २६ रनले हराएको थियो ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।