काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज आईतबार दुई खेलहरु हुँदैछन् ।
आईतबारको पहिलो तथा प्रतियोगिताको सत्रौं खेलमा जनकपुर रोयल्स र काठमाडौं नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
पाँच खेलमा चार जित निकालेको जनकपुर आजको खेल सहज रुपले जितेर र्शीष स्थानमा उक्लिन चाहान्छ । जनकपुर ५ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
चार खेल खेलेर समान २/२ जित तथा हार हात पारेर ४ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
यही संस्करणको पहिलो भेटमा काठमाडौंले जनकपुरलाई ५३ रनले हराएको थियो ।
आज नै हुने दोस्रो खेलमा अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।
छ खेल खेलेर पाँच जित हात पारेको लुम्बिनी छैठौं जितको खोजीमा रहेको छ । लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।
पाँच खेल खेलेर दुई जित हात पारेको विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । विराटनगर ५ खेलमा ४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
यही संस्करणको पहिलो भेटमा लुम्बिनीले विराटनगरलाई ३ रनले पराजित गरेको थियो ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।