काठमाडौं । राजधानीमा जारी नेपाल टी-ट्वान्टी लिगमा विराटनगर किग्संले पोखरा एभेन्जर्सलाई पराजित गरि प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
लगातार चौथो खेलमा हार व्यहोर्ने क्रममा पोखरा ६ विकेटले पराजित भएको हो ।
प्राविधिक कारण खेल १९ ओभरमा छोट्याईएको खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पाएको विराटनगरले १७.४ ओभरमा ६ विकेट गुमाएर भेट्यो ।
विराटनगरका लागि हुसेन तलतले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । अर्जुन साउद २५ रनमा आउट भए । कप्तान आन्दे्र म्याकार्थीले २१ तथा पृथु बाँस्कोटाले १५ रन बनाए ।
पोखराका लागि कुशल मल्ल र शरद भेषवाकरले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो ।
पोखराका लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ तथा सिद्धान्त लोहनीले ३ छक्काको सहयोगमा १९ बलमा २६ रन बनाए ।
कप्तान उपुल थरंगा १९ रनमा आउट हुँदा आसिफ शेखले १० रन बनाए । प्रतिश जिशीले अविजित ११ तथा शरद भेषवाकरले अविजित ९ रन बनाए ।
विराटनगरका लागि हुसेन तलत र राज नाननले समान २/२ तथा नन्दन यादव,साहब आलम र कप्तान आन्द्र म्याकार्थीले समान १/१ विकेट लिए ।
पहिलो जित हात पारेको विराटनगर तीन खेलमा २ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।
लगातार चौथो हार व्यहोरेको पोखरा र्अक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहको छ ।
लिगमा काठमाडौं नाईट्स,फार वेस्ट युनाईटेड,लुम्बिनी अल स्टार,पोखरा एभेन्जर्स,विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स सहभागी रहेका छन् ।