काठमाडौं । पोखरा एभेन्जर्सले राजधानीमा जारी नेपाल टी-ट्वान्टी लिगमा विराटनगर किग्संलाई जितका लागि १ सय ४० रनको लक्ष्य दिएको छ ।
केही समय ढिला सुरु भएकोले खेल १९ ओभरमा छोट्याईएको थियो ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो ।
पोखराका लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ तथा सिद्धान्त लोहनीले ३ छक्काको सहयोगमा १९ बलमा २६ रन बनाए ।
कप्तान उपुल थरंगा १९ रनमा आउट हुँदा आसिफ शेखले १० रन बनाए । प्रतिश जिशीले अविजित ११ तथा शरद भेषवाकरले अविजित ९ रन बनाए ।
विराटनगरका लागि हुसेन तलत र राज नाननले समान २/२ तथा नन्दन यादव,साहब आलम र कप्तान आन्द्र म्याकार्थीले समान १/१ विकेट लिए ।
दुबै टोली पहिलो जितको खोजीमा रहेका छन् । दुई खेल खेलेर जित बिहिन बनेको विराटनगर पाँचौ स्थानमा रहेको छ।
तीन खेलमा अंक बिहिन पोखरा अंक तालिकाको पुछारमा रहेको छ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहको छ ।
लिगमा काठमाडौं नाईट्स,फार वेस्ट युनाईटेड,लुम्बिनी अल स्टार,पोखरा एभेन्जर्स,विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स सहभागी रहेका छन् ।