काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई २ सय ९ रनको लक्ष्य दिएको छ ।
टियु मैदानमा टस जितेर पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो ।
काठमाडौंका लागि ब्लेकले ४३ बलको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४ चौका र ७ छक्का प्रहार गरे ।
यस्तै विरनदिप सिंहले ४९ तथा अज्मतुल्ला उमरजाइले १५ बलमा ४३ रनको अविजित पारि खेले लोकेस बम १५ रनमा आउट भए ।
यता जनकपुरका लागि पवन सराफले २, सोमपाल कामी, शरफुदिन असरफ, आदिल आलम र जितेन्द्र मुखियाले समान १/१ विकेट लिए ।
यसअघि दुई खेलमा लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजीमा रहेको छ । जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यता काठमाडौं दोस्रो जितको खोजिमा रहेको छ । पहिलो खेलमा जित निकाललेको काठमाडौं दोस्रो खेलमा पराजित भएको थियो ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।