काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको आजको पहिलो खेलमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ ।
पहिलो जित हात पार्ने क्रममा फार वेस्टले काठमाडौंलाई ४ विकेटले हराएको हो ।
९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । देव खनालले १७ रन बनाउँदा भिम सार्किले ११ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
काठमाडौंका लागि अनिल खरेलले २ तथा अजमतुल्लाह उमरजाई,अबिनाश बोहरा,रायन बर्ल र बसिर अहमदले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको हो ।
काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ रनमा आउट भए ।
सन्तोष कार्कीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
फार वेस्टका लागि उमर अलिले ३ तथा हजमतुल्लाह शाहिदी,भुवन कार्कीले समान २र२ तथा शेर मल्लले १ विकेट लिए ।
दोस्रो खेलमा पहिलो हार व्यहोरेको काठमाडौं २ खेलमा २ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
दोस्रो खेलखेलेको फार वेस्टले पहिलो जितहात पारेको छ । पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टारसँग पराजित भएको थियो ।
फार वेस्ट २ खेलमा १ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
आज नै हुने दोस्रो खेलमा विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स बीच खेल हुदैछ । खेल दिउसो १ः१५ बाट सुरु हुनेछ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।