काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । लुम्बिनीले बिराटनगरलाई २ रनले पराजित गरेको छ।
लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य बिराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्र बनायो।
बिराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए । यस्तै रोहित कुमार पौडेलले २५ रन, सिकन्दर राजा १७ रन र अर्जुन साउद १० रनमा आउट भए । पृथु बास्कोटाले १८ रन बनाए ।
यता लुम्बिनीका लागि किशोर महतोले २ विकेट लिए । सागर ढकाल, गुलसन झा, दिपेन्द्र सिहं ऐरी र प्याट ब्रोनले समान १/१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
लुम्बिनीका लागि लाहिरु मिलन्थाले सानदार ब्याटिङ गरे । उनले ६३ बलमा ५ चौका र ४ छक्काको सहयोगमा अविजित ८० रनको अर्धशतकीय इनिङ खेले ।
उनको यो लिगमा लगातार दोस्रो अर्धशतक हो ।
यस्तै कुशल भुर्तेल २६ रनमा आउट हुँदा कप्तान दिपेन्द्र सिहं ऐरीले १६ रन बनाए । बिपुल शर्मा ११ रन र अनिल शाह ६ रनमा आउट भए ।
यता बिराटनगरका लागि नन्दन यादव,हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान १/१ विकेट लिए ।
दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । हारसँगै पहिलो खेल खेलेको विराटनगर अंक बिहिन रहेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।